उसो त जाडो मौसममा धेरैखाले रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा प्रमुख समस्याहरू हुन् । केही दिन अघिदेखी भइरहेको मौसमी परिवर्तन र उच्च हिमाली भेग वा माथिल्लो पहाडी भू–भागमा परेको हिमपातले अब केही समय जाडो अझै बढ्न सक्छ । यस अवस्थामा खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोले निकै सताउने गर्छ ।

कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षण रहेको रुघाखोकी र ज्वरोको समस्या सिजन परिवर्तनको बेला प्रायःमा देखिन्छ । शरीरको प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिलाई मौसमी समस्याहरुले अझै बढी सताउन सक्छ । हावाको मध्यमबाट सर्ने यो भाइरस हाल देखा परिसकेको छ । समुदायमा छिट्टै संक्रमित गर्न सक्ने भएकोले जोखिममा रहेकाहरु चनाखो हुनुपर्छ । दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालबालिका र वृद्धवृद्धाहरु यस भाइरसको जोखिममा पर्ने समूह हुन् । संक्रमित भैसकेको अवस्थामा अन्य मानिसभन्दा अलग्गै बस्ने, कम्तीमा १० दिन जति मानिसहरुसँग दूरी कायम राख्नुपर्छ । घरबाहिर निस्कँदा मास्क लगाउने र संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ ।

कोल्ड डायरिया

जाडो याममा बढी देखिने यो एक प्रकारको भाइरल डायरिया हो । पाँच वर्षमुनिका बालबालिकामा खासगरी रोटा भाइरस नामक किटाणुले बढी दुःख दिन्छ भने वयस्कहरुमा नोरो भाइरसको कारणले डायरिया र बान्ता गराउँछ । रोटा भाइरस खासगरी ३ वर्षमुनिका बालबालिकामा बढी प्रभाव पार्ने गर्छ । विश्वमा नै यो भाइरस पखाला र बान्ताबाट हुने बालबालिकाको मृत्युको सबैभन्दा प्रमुख कारण हो ।
संक्रमित व्यक्तिको दिसा वा बान्ता, पानी वा कुनै सतह वा सामानमा परेमा र सो खानेकुरा वा सतहमा छुँदा यो भाइरस सहजै सर्न सक्छ । यो खासगरी पार्टी, स्कुल वा नर्सिङ संस्थाहरुमा अचानक प्रकोपको रुपमा देखिन सक्छ । व्यक्तिगत सरसफाइ र सफा खानेकुरा नै यसबाट बच्ने मुख्य उपायहरु हुन् ।

टन्सिल

जाडोको समयमा टन्सिलको समस्या आमरुपमा देखिन्छ । यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन्छ । यो समस्या भएमा गलामा दुख्ने, खाना खान, बोल्नमा अप्ठ्यारो हुनुका साथै ज्वरो पनि आउन सक्छ । यसबाट बच्नको लागि यस मौसममा चिसो पेय पदार्थ तथा चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।

दम

दमबाट पीडित बिरामीहरुको समस्या जाडोको मौसममा बढ्न सक्छ । दम एक किसिमको एलर्जिक रोग हो । रातको समयमा, चिसोबढेको बेला तथा जाडोको मौसममा एलर्जीले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसैले दमका रोगीहरुले चिसो हावाबाट बच्नुपर्छ ।
धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ । दमका रोगीले आफ्नो नियमित सेवन गर्ने औषधिहरु चिकित्सकको सल्लाह बमोजिम लिनुपर्छ । आफूखुसी औषधि बीचमा छोड्नु हुँदैन र फेरी सुचारू गर्न हुदैन ।

जोर्नीको दुखाइ

जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नी सम्बन्धी समस्या देखा पर्छ । जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिन्छन् । विषेशगरी वृद्धवृद्धामा जोर्नी दुख्ने समस्या बढी हुन्छ । चिसो बढेको बेला ज्वाइन्ट पेन जसलाई पनि हुन सक्छ । तर बूढाबूढीहरुको हड्डी कमजोर भएको कारण यिनीहरुलाई चिसोले बढी प्रभावित गर्छ ।
यसबाट बच्नको लागि सकेसम्म चिसो हावामा बाहिर ननिस्कने, जोर्नीहरुमा तातो सेकाइको लागि पट्टी या हट ब्यागको प्रयोग गर्नुपर्छ । सामान्य हल्का किसिमको व्यायाम नियमित गर्ने, न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

ज्वरो, रुघाखोकी

जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका शुस्म कणहरूमार्फत हावाका माध्ययमबाट एक ब्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । जाडो याम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । जाडोमा यसका भाइरस बढी सक्रिय हुन्छन् । यसले खासगरी बच्चा तथा बूढाबूढीलाई आक्रमण गर्छ । ज्वरो आउने, रुघा लाग्ने समस्या बेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ ।

निमोनिया

जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्नेर श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । निमोनियाबाट बच्नको लागि चिसोबाट बच्ने, छाती सम्बन्धी रोगीहरुले नियमित चिकित्सकको सल्लाह लिएर उपचार गराउने, खानपान माध्यान दिने पोषण एवं भिटामिनयुक्त खानेकुरा खाने, धुम्रपान नगर्ने, गुम्सिएको कोठामा बस्नु हुँदैन ।

पिनास

पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाक भित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ । पिनासबाट बच्नको लागि चिसोबाट बच्ने, धेरै एलर्जी हुने तत्व, धुलो, धुवाँ आदिबाट बच्ने, धुम्रपान तथा मध्यपानबाट टाढा रहनुपर्छ ।
माथि उल्लेखित लक्षणहरू कोरोना भाइरससंग मिल्दाजुल्दा छन् । तसर्थ यस जाडो मौसममा उल्लेखित कुनैपनि लक्षणसंग मिल्दाजुल्दा लक्षण देखिएमा सजक भई थप स्वस्थ्य जाँच र उपचार गराउनुहोला ।
जाडोमा देखिने यस्ता विभिन्न समस्याबाट बच्नको लागि न्यानो रहनु नै उत्तम उपाय हो । यी बाहेक जाडोको समयमा बाफ लिने, नुनपानीले कुल्ला गर्ने, संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढी मात्रामा खानुपर्छ । एक्कासी गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानु हुँदैन । जाडोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा विषेश ध्यान दिनुपर्छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला