प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रबार फतिमा नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री देउवालाई भेट गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको हो ।

उनीहरुबीच एमसीसी परियोजना बारे छलफल भएको छ । फतिमाले एमसिसीका विषयमा नेपालमा भएका चर्चाका बिषयमा चासो व्यक्त गरेकी थिइन् ।

भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल-अमेरिका सहयोगबारे छलफल भएको प्रधामन्त्री देउवाले जानकारी दिएका छन् ।

देउवाले सामाजिक सञ्जालमार्फत पनि तस्बिर शेयर गर्दै भेट भएको बारे जानकारी दिएका छन् । उक्त भेटवार्तामा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि सहभागी रहेको थियो ।

बिहिबार नेपाल आएकीफतिमा नेतृत्वको प्रतिनिधिमण्डलले सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट गरेको थियो ।

यस्तै शुक्रबार पनि फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उर्जामन्त्री पम्फा भुसाल लगायतललाई भेट गरिसकेको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला