काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्रीको अफर आएको छ । जसपाका संसदीय दलका नेतासमेत रहेका यादवलाई प्रधानमन्त्रीको अफर आएको हो ।

उनलाई यो प्रस्ताव अन्य कतैबाट नभई जनता समाजवादी पार्टीकै नेतृ हिसिला यमीबाट आएको हो । जसपा संघिय परिषद् सदस्यसमेत रहेकी । यमीले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै यादवलाई प्रधानमन्त्री बन्ने आँट गर्न सुझाव दिइसकेका छन् ।

देउवा सरकारमा उपप्रधानमन्त्री खान खुट्टा उचालिरहेका बेला उनलाई प्रधानमन्त्रीका लागि प्रस्ताव आएको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका यादव सरकारमा सहभागी नभई अन्य नेतालाई नेतृत्व गरेर पठाउनुपर्ने विषयबारे छलफल बढिरहेको छ ।

उनलाई मन्त्री बन्नबाट रोक्नका लागि प्रधानमन्त्रीको प्रस्ताव आएको बताउने पनि छन् । उपेन्द्र यादवले उपप्रधानमन्त्री बन्ने रहर गरे पनि प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नबनाउने बताएका छन् ।

हरेकपटक उनी नेतृत्वको दल सरकारमा सहभागी हुँदा आफू समेत गएका यादवलाई यसपटक रोक्ने प्रयास भइरहेको छ । यादवको साटो महेन्द्र राय यादव वा राजेन्द्र श्रेष्ठलाई नेतृत्व गराएर सरकारमा पठाउनुपर्नेमा जोडबल चलिरहेको छ ।

जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले उपेन्द्र यादव सरकारमा जान नहुने सुझाव दिएको बुझिएको छ । हिसिला यमीले ट्वीट गर्दै यादवलाई प्रधानमन्त्री बन्ने आँट गर्न सुझाव दिइसकेका छन् । उनले यादव अहिले सरकारमा जान नहुने सन्देश दिनेगरी ट्वीट गर्नु अर्थपूर्ण छ

जसपामा को को सरकारमा जाने टुंगो उपेन्द्र यादवले मात्र लगाउन नसक्ने अवस्था विकास भइसकेको छ । बाबुराम भट्टराईको प्रभाव बढेको छ । ओली सरकार ढाल्न महत्वपूर्ण भूमिका निभाएकाले देउवाले पनि उनलाई महत्व दिन थालेका छन् ।

सरकारमा जानेहरुको सुची टुंगो लगाउँदा यादव रोकिएमा अर्को सांसदको ढोका खुल्नेछ । अर्कोतर्फ, बाबुरामको प्रभाव झन् बढ्ने भएकाले यादवलाई रोक्ने प्रयास भइसकेको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला