कलाकार तथा चलचित्र निर्देशक विशारद बस्नेतको कोरोना संक्रमणका कारण शुक्रबार साँझ निधन भएको छ । केही समयदेखि उनी कोरोना संक्रमणको उपचारमा थिए । उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा ३९ वर्षका उनको शुक्रबार साढे ५ बजे निधन भएको हो । उनको कोरोनाका कारण निधन भएको सो अस्पतालले जनाएको छ ।

निर्देशक बस्नेतले चार महिनाअघि मात्र बुबा र हजुरआमा गुमाएका थिए । उनको शुक्रबार बेलुका पशुपतिमा दाह संस्कार गरिएको छ ।

नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका क्रिएटिभ निर्देशक बस्नेतले रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका थिए । भारतमा जन्मिएर उनले लामो समय उतै काम गरे । त्यसपछि नेपाल आएका विशारदले नेपाली चलचित्र ‘यता न उता’मा सहनिर्देशन र अर्को चलचित्र ‘मिस्टर भर्जिन’मा निर्देशकका रूपमा काम गरेका थिए । उनले यी दुई चलचित्रसँगै असिम शाहको निर्देशन रहेको ‘दुई रुपैंयाँ’ पनि अभिनय गरेका छन् ।

उनले मण्डला थिएटरका विभिन्न नाटकको कास्टिङसँगै केही नाटकमा अभिनय पनि गरेका थिए । बस्नेतले अभिनय गरेका मध्ये मण्डला थिएटरको नाटक बार दुर्वासामा उनको भूमिका निकै प्रभावशाली थियो । बस्नेतको निधनप्रति रंगकर्मी तथा चलचित्रकर्मीले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला