नेकपा एमालेको ओलीपक्षीय स्थायी कमिटी बैठक र महाधिवेशन आयोजक समितिको छुट्टाछुट्टै बैठकले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने निर्णय गरेको छ । पार्टी एकता कायम राख्‍न भन्दै २०७५ जेठ २ भन्दा अगाडिको संरचनामा जाने निर्णय समेत भएको छ ।

२०७५ जेठ ३ मा साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा बन्‍नु अगाडि एमाले महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको संरचनामा थियो । जसमा माधव नेपाल पक्षीय पदाधिकारीको बहुमत छ ।

तर, नेकपा विघटनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा गठन गरेको महाधिवेशन आयोजक समितिलाई पनि पछी अदालतले मान्यता दिएन ।

अदालतले मान्यता नदिएको महाधिवेशन आयोजक समितिमा माओवादी छाडेर एमाले बन्‍न पुगेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापा लगायत २३ नेता समेत थिए ।

हिजो बसेको यही महाधिवेशन समितीको बैठकमा बरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाल सहित सो समूहका ११ नेतालाई निम्तो थिएन । उनीहरुलाई यसअघि नै पार्टीले निष्काशन गरेको भन्दै बैठकमा नबोलाइएको एमाले स्रोतले बतायो ।

तर, रोचक कुरा के छ भने जब २०७५ जेठ २ अगाडिको अवस्थामा पार्टी हुनुपर्ने भन्‍ने मुख्य मागसहित ओलीविरुद्ध संघर्ष गर्ने माधव–झलनाथ समूहलाई नै ओली पक्षले बैठकमा प्रवेश नै दिएन । यसले पार्टी मिलाउन खोजेको हो वा माधव झलनाथ समूहलाई लखेट्न खोजेको हो भन्दै नेताहरुले प्रश्‍न उठाएका छन् ।

त्यति मात्रै होईन बैठकमा माधव–झलनाथप्रति नरम कुरा राख्‍ने कतिपय आफ्नै गुटका मुख्य नेतालाई समेत अध्यक्ष ओलीले थर्काएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले बैठकमै माधव नेपालबारे छुद्र टिप्पणी समेत गरेका थिए । ‘माधव नेपाल भन्ने मान्छे काँग्रेस प्रवेश गर्न सक्छन्, माओवादीको पुच्छर त भएकै छन् प्रचण्डको कार्यकर्ता बनेर एमाले सिध्याउने कसम पनि खाएका छन्’, ओलीले बैठकमा भनेका थिए ।

आखिर मिल्न लागेको पार्टी बिगार्ने डिजाइनर को हुन् त एमालेमा ? कार्यकर्ताले प्रश्‍न गरेका छन् र उत्तर गुटका नेतापिच्छे फरक छन् । ओली पक्षीय नेताले माधव पक्ष पार्टीलाई धोका दिएर जाँदैछ भन्ने प्रचार जोडतोडले गरिरहेको छ भने माधव पक्षीय नेताहरु ओलीले पार्टीमा बस्‍नै दिएनन् र बाध्य भएर ओलीविरुद्ध उत्रनु परेको भनेका छन् ।

खासगरी एमाले मिल्न नदिन पूर्व माओवादी नेताहरु समेत सक्रिय भएको एमाले कार्यकर्ताको आरोप छ । राष्ट्रियसभा निर्वाचनमा धोका पाएपछि रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी माधव–झलनाथ समूहसँग रिसाएको छ । बादल आफैं निर्वाचन हारेका थिए भने रायमाझीले आफ्नो विश्वासपात्र चन्द्रबहादुर खडकालाई जिताउन सकेनन् ।

यसैगरी माधव नेपालकै जिल्लाबासी नेता प्रभु शाह पनि एमाले एकता हुनै नदिने मुडमा छन् । उनि पहिलेदेखि नै माधव नेपाललाई नेता मानेर एकता गर्न तयार थिएनन् ।

यसैगरी ओलीपक्षीय नेताहरु ईश्वर पोख्रेल, विष्णु रिमाल, राजन भट्टराई, गोकुल बास्कोटा, विशाल भट्टराई, सुर्य थापा पनि टेलिभिजन अन्तर्वार्तामा माधव–झलनाथ एमाले पार्टीमै छैनन् भन्दै अपमानजन्य अभिव्यक्ति दिईरहेका छन् । ओली पक्षीय केही नेताले पार्टी एकताको लागि दिएका अभिव्यक्तिलाई समेत यो समूहले बकवास भनिरहेको छ ।

त्यसैगरी पार्टी एकताको कुरा भ्रम हो भन्दै ओलीसँग तत्काल अलग हुन माधव–झलनाथ पक्षका केही नेता समेत उग्र भएर लागेको आरोप पार्टी कार्यकर्ताले लगाएका छन् ।

माधव–झलनाथ पक्षका नेता भिम रावल, युवराज ज्ञवाली, विरोध खतिवडा, जगन्‍नाथ खतिवडा, राजेन्द्र राई, रामकुमारी झाँक्रीलगायत नेताले ओलीसँग मिल्नै नसकिने भन्दै पार्टी एकता प्रभावित बनाइरहेको केही नेताहरुको आरोप छ ।

यिनीहरुलाई एमालेको ओली पक्षीय भेला र बैठकले पटक–पटक स्पष्टीकरण, कारवाही र निष्काशन गरिसकेको छ

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला