काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साताका लागि थपिएको छ। उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर तथा ललितपुर)का  प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सोमवार बसेको बैठकले  विभिन्न प्रावधान खुकुलो बनाउँदै निषेधाज्ञा एकसाता लम्ब्याएको हो।

एक साताको लागि थपिएको निषेधाज्ञामा पनि अब पसलहरु भने दैनिक खुल्ने भएका छन्। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो।

अब भोलिदेखि लागु हुने निषेधाज्ञामा जोर विजोरका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए।

त्यसैगरी, यसअघि बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न दिइएका पसलहरु दिनभर सञ्चालन गर्न पाइने भएको छ।यसअघि खाद्यान्न तथा पुस्तक पसल बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको थियो।

‘पसलहरुमा लगाइएको बार प्रणाली हटेको छ,’ पराजुलीले भने, ‘अब जुनसुकै बार पनि खोल्न पाइनेछ।’

तर, यसरी खोलिने पसलहरुमा समय भने तोकिएको छ। खाद्यान्नका पसलहरु भने बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन्। त्यस्तै अन्य पसलहरुलाई भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न दिइएको छ।

काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिइने उनले बताए।  बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने जनाइएको छ।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन।

आफ्नो प्रतिक्रिया लेख्नुहोला