जिल्लाभर निषेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, व्रतबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांस्कृतिक कार्य रोकिएका छैनन्। निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागी हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन्।

जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागी भएका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एउटै गाउँमा यति धेरै जनामा संक्रमण देखिएको हो। विवाहमा सहभागी भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बाग्लुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल बताउँछन्। गाउँभरि ज्वरो, रुघा, खोकी र शरीर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो। यसअघि बडीगाड गाउँपालिका-४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको थियो।

सोही विवाहमा सहभागी एकै परिवारका चार जनाको संक्रमणका कारण मृत्यु भएको थियो। ‘सात जनाभन्दा जम्मा नहुनु भन्ने जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भने, ‘यदि कसैले नियम मिचे प्रशासनलाई खबर गरौँ।’

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला