काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै एक साता निषेधाज्ञा थप गरिएको छ ।

आइतबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउदै असार १४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । मंगलबारबाट निजी सवारी साधन र ट्याक्सी जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन पाउने छन् । जसअनुसार जोर गते जोर नम्वर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधान सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन गर्न पाइने छ भने सोहिबार नै अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल बिहान ११ देखि ४ बजेसम्म खुल्न पाउनेछन् । खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खुल्न सकिने जानकारी ।

त्यस्तै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसंग सम्बन्धी सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुनेगरि आलो पालो प्रणाली कायम गरी न्युनतम जनशक्ति मात्र प्रयोग गरी सेवा प्रवाह सुचारु गर्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै अनलाईन डेलिभरी, टेक अवे र सवारी साधान मर्मत वर्कशप साझ ७ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो भने पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबारबाट सकिँदैछ ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला