जारी निषेधाज्ञाबारे निर्णय गर्ने काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । बैठक आइतबार अपरान्ह बस्ने भएको हो। आइतबार बस्ने प्रजिअहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने जनाइएको छ। हाल जारी निषेधाज्ञा सोमबार (भोली) सकिँदैछ।

यसअघि कोरोना निर्देशक समितिको बैठकले असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो। यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई दिइएको छ । तर सीसीएमसीले अन्तिम निर्णय भने गरिसकेको छैन ।

जारी निषेधाज्ञामा पुस्तक पसल, खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खुला गरिएको छ भने निर्माण सामग्री विक्रीवितरण गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।

कोरोना संक्रमण दर घट्दै गएपनि जोखिम भने कायमै रहेकाले निषेधाज्ञा थप गर्ने तयारी गरिएको जनाइएको छ। जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर एक हप्ता लम्ब्याउने तयारी रहेको बताइएको छ। १६ बाट वैशाख जारी निषेधाज्ञा पछिल्लो पटक ७ असारसम्म लम्ब्याइएको थियो।

आफ्नो प्रतिक्रिया लेख्नुहोला