देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । अहिले पनि देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाकाे संम्भावना रहेकाे छ ।

जल तथा मौसम विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।

विभागको आज बिहानको मापन अनुसार नारायणी र यसका सहायक नदीमा बहाब सतर्कता आसपास रहेको छ । हिजो बेलुकी सिन्धुपाल्चोकको जलविरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अकस्मात बढी खतरा तह पार गरेको भए पनि बिहान घट्दो क्रममा रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज कोशी र यसका सहायक नदीमा बहाव सामान्य रहने नारायणी, कर्णाली र महाकाली जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम तथा भारी बर्षा भई सतर्कता तह आसपास पुग्ने बताएको छ ।

त्यसैगरी कन्काई र यसका सहायक नदीमा बहाब सामान्य घटबद हुने, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाब बढ्ने तर सतर्कता भन्दा तलै हुने विभागको अनुमान छ । यसैगरी पश्चिम राप्ती, तिनाउ, बबईका ससाना नदी जलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ ।

आज कालीगण्डकी, भेरी र यसका सहायक नदी जलाधार लगायत बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, काठमाडौँ, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, सुदुरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने ससाना नदी जलाधारमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्ने पूर्वानुमान गरिएको छ ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला