निद्रा मानिसको लागि मात्र नभएर सबै जीवहरूको लागि खाना, पानी र यौन जत्तिकै आवश्यक हुन्छ, चाहे त्यो निकै ठुलो हात्ती होस या निकै सानो कमिला, सबै प्राणीहरू कुनै न कुनै रुपमा निदाउँछन, चाहे चराहरू जस्तै रूखको हाँगामा उभिरहँदा होस वा माछा जस्तै पानी भित्र पौडी खेलिरहँदा नै किन नहोस । निद्रा यति आवश्यक हुँदाहुँदै पनि वैज्ञानिकहरू निद्राको खास प्रयोजनबारे द्विविधामै छन ।

ननिदाएमा के हुन्छ ?

निद्राको प्रयोजनको खोजी गर्नुभन्दा पहिले ननिदाएमा के हुन्छ भन्ने प्रश्नको उत्तर खोजी गर्ने प्रयत्न गरौं ।

निद्राको अभावका खास असरहरूबारे वैज्ञानिकहरू अहिलेसम्म द्विविधामै छन, किनभने निद्राको अभावका कारण हुने असरहरू र तनावका कारण हुने असरहरू छुट्याउन निकै गाह्रो हुन्छ । तैपनि केही चर्चित र धेरैले स्वीकार गरेका तथ्यहरूका बारेमा यहाँ चर्चा गरिएको छ ।

निद्राको अभाव भएमा मस्तिष्कको कार्य क्षमतामा ठूलो असर पर्न जान्छ । चाँडै रिस उठ्ने, कमजोर अनुभव हुने र चाँडै बिर्सने निद्राको अभावका केही असरहरू हुन । एक रातको निद्राको अभावले मात्रै पनि एकाग्रतामा कमी आउने र कुनै कुरामा पनि राम्रोसँग ध्यान दिन नसक्ने हुन सक्छ ।

लगातारको निद्राको अभावले भाषा, स्मरण शक्ति र समयको चेतनालाई नियन्त्रण गर्ने मस्तिष्कको क्षमतामा न्यूनिकरण ल्याउँछ । अनुसन्धानहरूले के देखाएका छन भने राम्रोसँग निदाउन नपाएका मानिसहरूले छिटो-छिटो परिवर्तन हुने अवस्थाहरूलाई राम्ररी पहिल्याउन नसक्नुका साथसाथै उपयुक्त विचार पनि दिन सक्दैनन् ।

निद्राको अभावले मस्तिष्कको कार्य क्षमता मात्रै घटाउँदैन, उद्वेग र शारीरिक अवस्थालाई पनि नराम्रो असर पार्छ । स्लिप एप्नीया( निद्राको अभावको कारणले आउने एक अवस्था)को कारणले उच्च रक्त चाप हुने पनि देखिएको वैज्ञानिकहरू बताउँछन । अनुसन्धानहरूले के पनि देखाएको छ भने निद्राको अभावले भुँडी बढ्ने समस्या पनि आउँछ, किनभने भोक र वजनलाई नियन्त्रण गर्ने हार्मोनहरू सुत्ने समयमा उत्पादन हुन्छन ।

यू.एस. नेशनल स्लिप फाउन्डेसनले संचालन गरेको अध्ययनले निद्राको अभावका कारण देखिने समस्याहरूमध्ये एउटा ठूलो समस्याको बारेमा प्रकाश पारेको छ । उक्त अध्ययन अनुसार १७ प्रतिशत अमेरिकी नागरिकहरू कहिलेकाहीं गाडी चलाउदै गर्दा पनि निदाउँछन । आफूलाई निद्रा लाग्ने सम्भावनाको अड्कल गर्न नसक्ने हुनाले र ‘निद्रा एउटा ढिलो प्रक्रिया हो’ भन्ने गलत धारणा मान्छेहरूमा भएको कारणले उनीहरू गाडी चलाउँदै गर्दा पनि निदाउँछन भन्ने तथ्य अध्ययनले देखाएको छ । सामान्यत: निद्राबाट वञ्चित मान्छेहरू ‘माइक्रोस्लिप’ नामको अवस्थामा पुग्छन, जहाँ उनीहरू केही समयको लागि निदाउँछन र आफू निदाएको कुरा उनीहरू चाल पाउदैनन् ।

हाभार्डका निद्रा विशेषज्ञ डा. रोबर्ट स्टिकगोल्डले गरेको एक अध्ययनअनुसार निद्राको अभावको कारण हाम्रो स्मरण शक्तिमा ठूलो ह्रास आउँछ । उनका अनुसार आर.इ.एम. स्लिप (निद्राको एक चरण)ले हाम्रो स्मरण शक्ति बलियो बनाउनमा ठूलो भूमिका खेल्छ । उनको अनुसन्धानले के देखाएको छ भने कुनै पनि कार्यलाई स्मरण गर्नको लागि त्यो कार्य सम्पन्न गरेको ३० घण्टाभित्र निदाउनु अत्यावश्यक हुन्छ ।

तर क्यालिफोर्निया विश्वविद्यालयका मानसिक रोगसँग सम्बन्धित विषयका प्राध्यापक डा. जेरोमि सीगेल तथा अन्य वैज्ञानिकहरू भने यो कुरामा सहमत छैनन् । डा. सीगेलले के कुरा पत्ता लगाए भने ‘मोनोएमिन अक्सिडेज’ नामको औषधी, जसले आर.इ.एम. स्लिपलाई असर गर्छ, सेवन गर्ने मानिसहरूको स्मरण शक्तिमा केही पनि कमी आउँदैन । त्यस्तै, दिमागी चोटका कारण आर.इ.एम. स्लिपबाट वञ्चित व्याक्तिहरूको स्मरण शक्तिमा पनि केही असर परेको देखिएको छैन । बमको छर्राको कारण मस्तिष्कमा चोट लागेका एक इजरायली व्यक्तिले स्थानीय पत्रिकामा पजल सम्पादकीयको रुपमा काम गरेका थिए । त्यसैगरि आर.इ.एम. स्लिपमा ८ घण्टा बिताउने जीव (मानिस आर.इ.एम. स्लिपमा २ घण्टा बिताउँछ) प्लेटिपसलाई मूर्ख प्राणीको रुपमा लिइन्छ ।

निद्राका चरणहरू

इलेक्ट्रोइन्सेफालोग्राम अथवा इइजि स्क्यान नामको प्रविधिको आविस्कार भएपछि अहिले मस्तिष्कका विधुतिय क्रियाकलापहरूलाई तरङ्गको रूपमा अवलोकन गर्न सकिने भएको छ । यही इइजि स्क्यानको मद्दतले लिइएका मस्तिष्कका तरङ्गहरूका चित्रहरूको आधारमा निद्रालाई दुई चरणहरूमा विभाजन गरिएको छ: एन.आर.इ.एम. र आर.इ.एम. निद्राका यी दुई चरणहरू ९० मिनेटमा पुरा हुन्छन र यो प्रक्रिया एक निद्रामा ५ देखि ६ पटक सम्म दोहोरिन्छ ।

एन.आर.इ.एम.

एन.आर.इ.एम.लाई पनि चार चरणहरूमा विभाजन गरिएको छ ।

प्रथम चरण

निद्राको यो चरणलाई हल्का निद्रा पनि भनिन्छ । यो चरणमा मान्छेको आँखा बन्द हुन्छ तर कसैले उसलाई जगाएमा उसलाई आफू ननिदाएको अनुभव हुन्छ । ऊ आधा जागै र आधा निदाएको हुन्छ । उसको सास फेर्ने गति र रक्तचाप कम हुन थाल्छ, मस्तिष्कको तापक्रम र मस्तिष्कमा हुने रक्त सञ्चार पनि कम हुन थाल्छ । उसको मांसपेशीको कार्यशीलता कमजोर र ढिलो हुन थाल्छ । यो चरणमा मस्तिष्कमा बिटा र थिटा नामक तरङ्गहरू तरङ्गीत भएका हुन्छन । यी तरङ्गहरू छोटो, ढिलो, र केही अनियमित हुन्छन । यो चरण ५ देखि १० मिनेटसम्म लामो हुन्छ ।

दोस्रो चरण

यो चरणको निद्रालाई वास्तविक निद्रा  पनि भनिन्छ । यो सबैभन्दा लामो चरण हो । यो २० मिनेटसम्म लामो हुन्छ । यो चरणको सुरूवातमा निदाएको व्यक्ति गहिरो निद्राको लागि तयार हुन्छ र उसलाई जगाउन कठिन हुदैं जान्छ । मस्तिष्कको तरङ्गमा थिटा तरङ्ग बढ्न थाल्छ र तरङ्ग ठूलो र ढिलो हुँदै जान्छ । उसको आँखा चल्न बन्द हुन्छ । आँखा खुल्लै भएपनि ऊ केही पनि देख्न सक्दैन । शरीरका सम्पुर्ण क्रियाकलापहरू ढिलो हुँदै जान्छन ।

तेस्रो र चौथो चरण

निदाएको ३० देखि ४० मिनेटपछि यो चरण सुरू हुन्छ । यो चरणलाई डिप स्लिप , डेल्टा स्लिप अथवा स्लो वेभ स्लिप पनि भनिन्छ । मस्तिष्कको क्रियाकलाप नाटकिय रूपमा ढिलो हुने भएकोले र मस्तिष्कको तरङ्ग थिटा तरङ्गबाट डेल्टा तरङ्ग, जुन थिटा तरङ्ग भन्दा ५ गुना ठूलो र निकै ढिलो (एक देखि दुई चक्र प्रतिसेकेन्ड) परिर्वतन हुने भएकोले यो चरणलाई स्लो वेभ स्लिप भनिएको हो । परम्परागत मान्यता विपरित, यो चरणको निद्रा सबैभन्दा गहिरो हुन्छ, आर.इ.एम चरणको निद्रा होइन । बच्चाहरूमा यो चरण सबैभन्दा लामो (सम्पूर्ण निद्राको करिब ४० प्रतिशत) हुने भएकोले उनीहरूलाई जगाउन कठिन हुन्छ । अधिकांश वयस्क मानिसमा भने यो चरण प्रथम दुई चरणहरू (९० मिनेट चक्रहरू) वा निदाएको ३ घण्टामानै पूरा हुन्छ ।

आर.इ.एम.

आर.इ.एम.  चरणको निद्राले वैज्ञानिकहरूलाई सधैं नै आकर्षित गर्दै आएको छ, किनभने हामीले सपना देख्ने चरण यहि हो । एन.आर.इ.एम. चरणमा हामी सपना देख्दैनौं । आर.इ.एम. चरणबारे रोचक तथ्य के छ भने यो चरणमा मस्तिष्क त्यति नै क्रियाशील हुन्छ, जति हामी जागिरहँदा हुन्छ, कहिलेकाहीं त्यो भन्दा पनि बढी क्रियाशील हुन्छ । त्यसैले शरीर र मस्तिष्कलाई आराम दिनको लागि हामी सुत्छौँ भन्ने  परम्परागत मान्यता गलत सावित भइसकेको छ । सन १९५३ मा आर.इ.एम. चरण पत्ता लागेपछि वैज्ञानिकहरूले निद्राको बारेमा धेरै कुराहरू थाहा पाए । त्यति मात्र होइन, सपनाको बारेमा अनुसन्धन गर्न पनि बाटो खुल्यो ।

आर.इ.एम. चरण निद्राको यस्तो चरण हो, जसमा हाम्रो मस्तिष्कको क्रियाकलाप बढ्नुको साथसाथै मुटुको धड्कन पनि अचानक बढ्न थाल्छ र स्वासप्रस्वास प्रक्रिया पनि तीव्र हुन थाल्छ । मस्तिष्कको सेरेब्रम का क्रियाकलापहरूका कारणले हामी सपना देख्न थाल्छौं । शरीरका सम्पूर्ण क्रियाकलापहरू तीव्र हुन थाल्छन । हात-खुट्टहरू भने स्थिर रहन्छन । रक्तचाप अचानक बढ्न सक्छ । त्यसैले यो चरणमा मुटुका रोगीहरूलाई हृदयघात हुने सम्भावना अत्याधिक हुन्छ । आँखा तीव्र रूपमा यताउता चल्ने हुनाले यो चरणलाई आर.इ. एमभनिएको हो । यो चरणमा मस्तिष्कको तरङ्ग हामी जागिरहँदाको छोटो र अनियमित हुन्छ ।

वैज्ञानिकहरूले के कुरा पत्ता लगाएका छन भने आर.इ.एम. चरणमा मस्तिष्कको क्रियाकलाप पोन्स भन्ने मस्तिष्कको एक भागबाट सुरू हुन्छ । पोन्सले थ्यालामस  र सेरेब्रल कोर्टेक्स  मा सूचना पठाउँछ, जसले अधिकांश चिन्तनका क्रियाकलापहरू नियन्त्रण गर्छ । यसले स्पाइनल कर्ड लाई पनि मोटर न्यूरोनहरू बन्द गर्नको लागि सूचना प्रदान गर्छ, जसको कारणले हाम्रा हात-खुट्टाहरू चल्न सक्दैनन् ।

आर.इ.एम. चरण हामी निदाएको ७० देखि ९० मिनेटपछि सुरू हुन्छ । निद्राको पहिलो चक्रको आर.इ.एम. चरण करिब १० मिनेट लामो हुन्छ भने चक्रसँगै यसको समय पनि बढ्दै जान्छ । अन्तिम चक्रमा आर.इ.एम. चरण करिब १ घण्टा लामो हुन्छ । यो चरण चलिरहँदा हामी जाग्यौं भने मात्र हामीलाई सपना याद हुन्छ । अरू नै कुनै चरण चलिरहँदा जाग्यौं भने हामी सपना त देख्छौं तर सपना याद हुदैंन ।

हामी किन निदाउँछौं ?

परम्परागत मान्यता के छ भने निद्राले हाम्रो दिमागको साथसाथै दिनभरिको व्यस्तताको कारणले थाकेको हाम्रो शरीरलाई आराम गर्ने अवसर प्रदान गर्छ । तर सत्य त के हो भने, निद्राको कारणले बच्ने शक्ति करिब ५० क्यालोरी मात्र हुन्छ जुन शक्ति हामी एउटा टोस्ट खाएर प्राप्त गर्न सक्छौं । यति मात्र होइन, आर.इ.एम. चरणमा हाम्रो मस्तिष्क हामी जागिरहँदाभन्दा पनि बढी क्रियाशील हुनसक्छ भन्ने तथ्य माथि नै प्रस्तुत गरिसकिएको छ । यदि निद्रा आराम लिनको लागि होइन भने केको लागि आवश्यक छ त ? हामी किन सुत्छौं त ? हामी किन निदाउँछौं त ?

यी प्रश्नहरू जति सरल छन, यसको उत्तर खोज्न त्यति नै कठिन छ । विश्वका कुनै पनि वैज्ञानिक निद्राको खास प्रयोजनको बारेमा निष्कर्षमा पुग्न सफल भएका छैनन् ।

केही वैज्ञानिकहरूले निद्रालाई विकासवादको सिद्धान्तसँग जोडेर व्याख्या गरेका छन । उनीहरूका अनुसार निद्रा प्राणी विकास हुने क्रममा विकास भएको एक अत्यवश्यक क्रियाकलाप हो । प्राणीहरू विकास हुने क्रममा उनीहरूको आँखाले देख्ने क्षमताको पनि क्रमश: विकास हुँदै गयो, जसको कारणले गर्दा उनीहरू विभिन्न नयाँ क्रियाकलापहरूमा व्यस्त हुन थाले ।

यो नयाँ परिमार्जित जीवनमा उनीहरूले देखेको र भोगेका विभन्न कुराहरू जस्तै शिकारी, सुरक्षित ठाउँहरू, खानेकुरा पाइने स्थानहरू आदिलाई स्मरण गर्ने नयाँ चुनौती उनीहरूमा थपियो । यस्ता कुराहरू स्मरण गर्नुपर्ने चुनौतीका कारण मस्तिष्कका विभिन्न भागहरूमा अत्याधिक दबाब पर्न गयो । एकातिर आँखाको विकासका कारण देखेका नयाँ-नयाँ सुचनाहरू स्मरण गर्नुपर्ने र अर्कोतिर पुराना सूचनाहरूलाई पनि सुरक्षित राख्नुपर्ने दबाब खप्न मस्तिष्कलाई गाह्रो भयो । त्यसैले मस्तिष्कले आफ्नो काम बाहिरी वातावरणको अवरोधबिना नै सम्पन्न गर्न सकोस भन्ने उद्देश्यले प्राणीहरूमा निद्राको विकास भएको हुन सक्ने केही वैज्ञानिकहरूको तर्क छ ।

अरू वैज्ञानिकहरू केमा विश्वास गर्छन भने निद्राले हामीले दिनमा प्राप्त गर्ने सुचनाहरूलाई स्मरण गर्न मद्दत गर्ने मात्र नभएर ती सूचनाहरूलाई अन्तर्क्रियात्मक प्रक्रियाद्धारा नयाँ सुचनाहरूमा परिमार्जित गरेर भविष्यमा पनि तयार रहनको लागि मस्तिष्कमा विभिन्न क्रियाकलापहरू गर्न मद्दत गर्छ । यो सिद्धान्त प्रमाणित गर्नको लागि जर्मनीको ल्युवेक विश्वविद्यालयका जान बोर्न र उनका सहयात्रीहरूले एउटा रमाइलो अनुसन्धान गरे । उनिहरूले १०६ जना व्याक्तिका विभिन्न अङ्कहरूलाई एक कठिन गणितिय सूत्रको प्रयोग गरेर अरू अङ्कहरूमा परिणत गर्न लगाए ।

रोचक त के छ भने सो हिसाब सम्पन्न गर्ने एक सजिलो तरिका थियो जुन कुरा ती व्यक्तिहरूलाई थाहा दिइएको थिएन । परीक्षणको पहिलो दिन २३ प्रतिशतले त्यो तरिका जाने । राम्रो निद्रापछि भोलिपल्ट उनीहरूलाई त्यही हिसाब गर्न दिँदा, ५९ प्रतिशतले सो तरिका पहिचान गरे । यो अनुसन्धानले के पुष्टि गर्छ भने निदाउँदाको समयमा हाम्रो मस्तिष्कले सूचनाहरूलाई स्मरण गर्ने मात्र नभएर ती सूचनाहरूलाई अन्तक्रियात्मक प्रक्रियाद्धारा नयाँ सूचनाहरूमा परिमार्जित पनि गर्छ ।

निन्द्राकै अर्को एक सिदान्त अनुसार दिनभरको व्यस्तताका कारण खिइएको हाम्रो शरीरलाई पुनः ताजा बनाउनको लागि हामीलाई निन्द्राको आवश्यकता पर्छ । निन्द्राले हाम्रो शरीरलाई पुनः मर्मत र शुद्ध बनाउनको लागि ठूलो भूमिका खेल्दछ । विगतका केही वर्षहरुमा यो सिद्धान्तले सफलता पाइरहेको छ । मानिस र अरु विभिन्न जीवहरुमा गरिएका थुप्रै अनुसन्धानहरुले यो सिद्धान्तलाई ठूलो बल दिइरहेका छन । केही अनुसन्धानहरुले के देखाएका छन् भने यदि कुनै मुसालाई निद्राबाट वञ्चित गराइयो भने त्यसले रोगसँग लड्ने क्षमता निकै धेरै गुमाउँन पुग्छ र केही हप्तामै त्यसको मृत्यु हुन्छ । अरु थुप्रै अनुसन्धानहरुले के पुस्टी गरेका छन् भने विभिन्न आरोग्यवर्धक कार्यहरु जस्तै मांसपेशीहरुको विकास, प्रोटिन निर्माण कार्य, ग्रोथ हर्मोन हरुको उत्पादन, कोषिकाहरुको र्ममत आदि अधिकांश निद्राकै अवस्थामा हुन्छन् । निद्राले शरीरको मात्र नभएर मस्तिष्कको पनि शुद्धिकरण गर्छ । उदाहरणको लागि, हामी जागिरहेको बेलामा मस्तिष्कका न्यूरोनहरुले एडिनोसिन नामक पदार्थको उत्पादन गर्छ । एडिनोसिन सबै कोषहरुमा पाइने यस्तो पदार्थ हो, जसले कोषहरुमा थुप्रै रासायनिक प्रतिक्रियाहरु सम्पन्न गर्नको लागि शक्ति प्रदान गर्दछ । मस्तिष्कमा एडिनोसिन थुप्रिनाको कारणले हामीलाइ थकाइ लागेको अनुभव हुने वैज्ञानिकहरु बताउँछन् । त्यसैले मस्तिष्कमा अत्याधिक मात्रामा एडिनोसिन थुप्रियो भने हामीलाई निद्रा लाग्छ । यसरी थुप्रिएको एडिनडोसिनलाई निद्राको समयमा हाम्रो शरीरले नष्ट गर्छ र उठ्दा हामी आफैलाई ताजा अनुभव हुन्छ । चिया र कफिमा पाइने क्याफिन नामको पदार्थले एडिनोसिनको उत्पादनलाई रोक लगाउने हुँदा चिया वा कफी खाँदा निद्रा कम लाग्ने र हामीलाई स्फूर्तिको अनुभव हुन्छ ।

अन्त्यमा,

मानिसको आयु छोटो छ, तर हामी हाम्रो जीवनको एक तिहाइ समय सुत्नमै खर्च गर्छौ । निद्राको प्रयोजन र उद्देश्य जे भए पनि, हामी यो कुरामा विश्वस्त छौं कि निद्रा हाम्रो लागि अत्यावश्यक ­छ । त्यसैले निद्राको आवश्यकताको बारेमा जान्नु आवश्यक भइसकेको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला