पृथ्वी सुव्वा गुरुङ गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री आफ्नो नेतृत्वको सरकार ढल्नुमा प्रधानमन्त्री केपि शर्मा ओली पनि दोषी रहेको बताएका छन्। आइतबारको दिन बिहान पत्रकारहरू कुरा गर्दै गर्दा उनले सरकार ढल्नुमा ओली पनि दोषी रहेको बताएका हुन्।

‘सबै कारण नै ओली हुन त भन्न मिल्दैन। तर, उहाँका पनि कारण चाहिँ हो,’ उनले भने, ‘नेपालमा दुई तिहाईको सरकार सफल हुन नदिने योजना अनुसारको नै काम भइरहेको छ। नेपाली कांग्रेसको दुई तिहाईको सरकारको हालत हेर्नुस् र अहिले नेकपाको सरकारको हालत हेर्नुस्।’

मुख्यमन्त्रीबाट हटेपछि अब आफूलाई पार्टीमा काम गर्न खुल्ला सङ्ग मिलेको भन्दै गुरुङले गण्डकी प्रदेशमा जुन सरकार आए पनि संघीयताको मर्म अनुसार काम हुनुपर्नेमा आफ्नो जोड रहने भन्ने प्रष्ट पारे।

गुरुङ्ले आफूले सरकारमा ल्याएका र पछिल्लो समय विपक्षी गठबन्धनमा लागेका राजीव गुरुङको पनि प्रशंसा गरे। ‘रत्नाकर डाँकु वाल्मिकी बन्न सक्छ भने, दीपक मनाङे समाजसेवी बन्न किन सक्दैनन्?,’ उनले भने, ‘मैले नै चुनाव जिताएर ल्याएको हो, र राम्रो कामको प्रशंसा गर्नुपर्छ।’

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला