यही जेठ २५ गते (मंगलवार) बाट देशभर कोरोनाविरुद्धको खोप भेरोसेल लगाउन थालिएको छ । चीन सरकारबाट ल्याइएको १० लाख डोज कोरोना खोप काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लाहरुमा ६२, ६३ र ६४ वर्षका व्यक्तिहरुले लगाउन पाउनेछन् । त्यस्तै काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुले लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् तर काठमाडौं – महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड -१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ । कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ।

कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भन्नुभयो, “स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट भोलि(शुक्रबार)देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।” तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।

‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ,’ जनस्वास्थ्य प्रमुख कुँवरले भने,’अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित भएको छैन ।’ कार्यक्रम अनुसार काठमाडौं महानगरले गएको मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला