काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले उपत्यकाभर २ महिनासम्म मेलम्चीको पानी नआउने जानकारी दिएको छ । समितिले काठमाडौं उपत्यकामा १ असारदेखि २ महिना १ भदौसम्म मेलम्चीको खानेपानी नआउने बताएको हो ।

आउँदो १ असारदेखि सुरुङको पानी खाली गरेर निरीक्षण गर्ने र पुनः पानी भर्न २ महिना लाग्ने हुँदा १ असारदेखि ६० दिनसम्म काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुने छैन ।

समितिले बिहीबार सूचना प्रेस विज्ञप्ति जारी गर्दै सुरुङ खाली गर्न १६ दिन लाग्ने र बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गर्न र पुनः भर्न समय लाग्ने बताउँदै ६० दिनसम्म पानी नआउने जानकारी दिएको हो।

असारदेखि अन्तिम परीक्षण हुने भएकाले मेलम्चीको पानी पथान्तरणलाई जतिसक्दो छिटो गर्ने गरी काम अघि बढाएको समितिका कार्यकारी निर्देशक ई. रामकुमार श्रेष्ठले बताए ।

सुरुङ खाली गर्ने क्रममा मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम, बागमती नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै १ असारदेखि नै नदी किनारामा नजान र काम विशेषले जाँदा उच्च सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा उपलब्ध नहुने भएपछि अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड र सम्बद्ध शाखाले पानी वितरण तालिका परिवर्तन गर्न थालेका छन् । महाँकाल शाखाका एक अधिकारीले मेलम्चीको पानी आउनुअघिको तालिकाअनुसार पानीको तालिका बनाउन थालिएको बताए ।

मेलम्चीको पानी आएपछि उपत्यकावासीले पानीको समस्या खासै भोग्नु परेको छैन । तर, अब केही महिना पहिलाकै जस्तै अर्थात् दैनिक ८ करोड लिटर पानी वितरण हुनेछ । अहिले मेलम्ची र पुराना स्रोतबाट गरी दैनिक २५ करोड लिटर पानी वितरण हुँदै आएको छ ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी नआउँदा केयूकेएलले सुन्दरीजल, डिप ट्युबवेल, विष्णुमती, शिवपुरीजस्ता स्रोतबाट उपत्यकामा पानी आपूर्ति गर्दै आएको थियो । अब यी स्रोतबाटै पानी वितरण हुनेछ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी औपचारिक रूपमा २१ चैतदेखि वितरण सुरु गरिएको थियो ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला