– कोरोना भाइरसको दोस्रो लहरको जोखिमबाट बच्न सावधानीस्वरुप सरकारले लागू गरेको निषेधाज्ञाको एक महिना नाघिसकेको छ । पछिल्लोपटक काठमाडौं उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा तोकिएका कारण सबै क्षेत्र ठप्प छ।

यसैबीच कोरोना संक्रमण र मृत्युदरमा उल्लेख्य कमी नआएतापनि सरकारले जनजीविकासँग जोडिएका सवालहरुलाई मध्येनजर गर्दै निषेधाज्ञाको ‘मोडालिटी’ परिवर्तन गर्दै ‘लुजडाउन’ को नीति अपनाउने तयारी गरेको छ।

एक महिनाभन्दा लामो समयदेखि देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा खोटाङ र मनाङबाहेकमा जारी निषेधाज्ञाका कारण जनजीवन प्रभावित बनेतापनि कोरोना महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको निष्कर्ष निकाल्दै गृहले एक सातापछि अर्थात् आगामी असार १ गतेबाट निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी सर्वसाधारणको दैनिकी सहज बनाउनेगरी तयारी थालेको गृह स्रोतले लोकपथलाई बतायो।

गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म हालकै मोडालिटीमा निषेधाज्ञा कायम रहनेछ। ‘कोरोनाको जोखिम घटेको छैन । तर कोरोनाको चेन ब्रेक गर्न डेढ महिना लामो समय निषेधाज्ञाले जनजीविकामा अप्ठेरो परेको कारण अब निषेधाज्ञाको मोडालिटी परिमार्जनबारे छलफल भइरहेको हो ।’ गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले भने ।

‘निषेधाज्ञा तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन हुन्छ ।’ जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि निषेधाज्ञाको शैली ‘लुजडाउन’ अर्थात् अत्यावश्यक सवारी साधनका अलावा नीजि सवारीमा जोरबिजोर प्रणाली लगाउने गरी तयारी थालिएको हो । तर सार्वजनिक सवारीका सवालमा भने गृहले तत्काल लचिलो व्यवस्था ल्याउने योजना बनाएको छ । उनले दोहोर्याए, ‘जनजीवन सहज बनाउनेगरी अझै केही समय निषेधाज्ञा जारी रहन्छ ।’

गृह मन्त्रालयले मोडालिटीका आधारमा अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिईसकेको छ। जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर सो बारे निर्णय लिन सक्नेछन्।

कस्तो हुनेछ, आगामी निषेधाज्ञा ?
गत वर्ष लामो समयको लकडाउन एकैपटक खुकुलो बनाउँदा फेरि संक्रमण बढेको भन्दै अपजस खेपेको गृहले यसपालि मोडालिटी बनाएरै निश्चित क्षेत्र खोल्दै क्रमश कोरोना नियन्त्रण तथा रोकथामसँगै जनजीविका सहज बनाउँदै जाने तयारी गरेको छ ।

अब अबलम्बन गर्न लागिएको मोडालिटीमा निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ। गृह स्रोतका अनुसार तत्काललाई उत्पादन र कृषि क्षेत्र, पाठ्यपुस्तक ढुवानी जस्ता कार्यमा सहजीकरण गरिनेछ । तर विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मल, मठमन्दीर, पार्कसहितका भीडभाड हुने क्षेत्र भने तत्काल खुल्ने छैनन् । यस्तै बढी भीडभाड हुने विवाह, व्रतवन्ध, सभा, गोष्ठी गर्न रोक लगाइनेछ।

गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालय र विज्ञहरुसँग राय लिएर निषेधाज्ञाबारे थप निर्णय गरिने जनाएको छ ।

के छ विज्ञको मत ?

‘कोभिड – १९’ को महामारी विश्वमा कायम रहेसम्म र समपूर्ण मानिसमा कोरोनाविरुद्धको खोपको उपलब्धता नभएसम्म नेपालले लकडाउन सहज बनाएर पनि पहिलेजस्तै स्वतन्त्र रुपमा काम गर्ने स्थिति नरहने विज्ञहरुको भनाई छ । लामो समयसम्म लकडाउनमा जाँदा हुने कठिन परिस्थितीको आँकलन गरेर हाल गृहले तयारी गरिरहेको अवस्थामा संक्रमण न्यूनिकरण गर्दै कसरी सहज तरीकाबाट सुरक्षित रुपमा दैनिक काम गर्ने भन्ने विषयमा संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे स्वास्थ्य मन्त्रालयले पनि छलफल शुरु गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा क्वारेन्टाइन सेन्टर, स्क्रिनिङ, अन द स्पोट टेस्ट’ निगरानीको व्यवस्था, अस्पतालको उपलब्धता, तेस्रो लहरको जोखिमबारे अध्ययन र पूर्व तयारीसहित लकडाउन क्रमश खुकुलो बनाउने विज्ञको भनाई छ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला