– समयमै सरकारको ध्यान जान नसकेका कारण नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पाउन हम्मे हम्मे परिरहेको छ। लामो समय राजनीतिक खिचातानीमा तानिएको सरकार अहिले भने खोप खरिदका लागि पहल गरिरहेको छ।

तर, विश्व बजारमा नै खोप उत्पादन र आपूर्तिको समस्या भएकोले नेपालले खोप पाउन हम्मे हम्मे परिरहेको छ। बेलैमा ध्यान पुर्याएर खोप खरिद गर्ने देशहरुमा अहिले खोप कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढीरहेको छ। उनीहरुले खोप उत्पादन भइरहँदा आवश्यक छलफल गरे।

र कति देशले विश्वस्वास्थ्य संगठन (डब्लूएचओ)  ले प्रयोगको मान्यता नदिदै खोप खरिद प्रक्रिया अगाडि बढाए भने कति देशले मान्यता दिइसकेपछि अग्रिम खोप खरिद गरे। सोहीकारण त्यस्ता देशहरुमा खोप कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढिरहेको हो।

नेपाल सरकार र सरकारी निकायले भने अहिले आएर खोप खरिदको लागि हारगुहार गरिरहेका छन्। विभिन्न कुटनीतिक नियोग हुँदै, स्वयं देशका राष्ट्रपतिले विभिन्न खोप उत्पादक कम्पनी र सम्बन्धीत देशहरुलाई खोप उपलब्ध गराइदिन पत्राचार गरेका छन्।

तर, हालसम्म आउँदा खोप खरिदमा कुनै पनि ठोस प्रगति हुन सकेको छैन। कारण हो धेरै देशहरुले खोप अग्रिम खरिद गरीसकेका छन्। खोप उत्पादन गर्ने कम्पनी थोरै छन्। यतिसम्मकी कतिपय कम्पनीहरुले त सन् २०२१ वर्षभरीको लागि खोप उपलब्ध गर्न नसक्ने बताउन थालिसकेका छन्।

नेपाल सरकारले सुरुमा भारत बाहेक अन्त खोपको लागि प्रयास नै गरेन।अहिले खोपको लागि हारगुहार गरेर मात्रै खोप पाउन मुस्किल रहेको विज्ञहरुले बताउने गरेका छन्। उत्पादन कम्पनी कम भएको, आपूर्ति प्रक्रियामा समस्या र ठूला देशहरुले खोप कब्जा गरेका कारण खोप समान रुपमा वितरण हुन सकेको छैन।

नेपाल सरकारको अहिलेको खोपसम्बन्धी नीति अनुसार कुनै देशले मान्यता दिएको खोप आयात गर्न सक्ने व्यवस्था छ। यस्तो अवस्थामा विज्ञहरुले बृहत छलफल गरेर तेस्रो ट्रायलमा रहेका खोपलाई खरिद गर्न सहज हुने सुझाव दिएका छन्।

त्यस्तै दुई कम्पनीको खोपको फरक फरक मात्रा लगाउन मिलेको खण्डमा पनि नेपाललाई सहज हुने उनीहरुको तर्क छ। उनीहरुका अनुसार खोप खरिदमा चुनौती रहेकोले स्वदेशमै उत्पादनको बारेमा पनि विचार गर्न सकिने हुन्छ। खोप खरिदमा जति ढिालाई भयो त्यति नै पछुताउनुको विकल्प नभएको उनीहरुले बताएका छन्।

खोप खरिदमा देखिएन प्रगति

सरकारले खोप ल्याउन कुटनीतिक प्रयास जारी रहेको भन्दै आएको धेरै भए पनि प्रगति केही देखिएको छैन। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पनि न त कुनै देशसँग नै खोप खरिद हुन सकेको छ न त कुनै कम्पनीसँग नै। यो बीचमा अमेरिका र बेलायतले नेपाललाई खोप दिने हल्ला चले पनि त्यसमा ठाेस प्रगति नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सरकारले खोपको सम्बन्धमा विभिन्न मुलुकहरु र कम्पनीहरुसँग छलफल गरीरहेको भए पनि खोप ल्याउने सम्बन्धमा ठोस सम्झौता भने अहिलेसम्म नभएको उनले बताए।

उनले भने, ‘नेपालले खोप दिन विभिन्न कम्पनी र देशहरुलाई पत्राचार गरी आग्रह गरेको छ। तर, विभिन्न देशहरु विषेशगरी ठूला देशहरुले पहिले नै कोरोना विरुद्धको खोप बुकिङ गरिसकेकोले उनीहरुले अहिले दिन नसक्ने बताइरहेका छन्। अहिले प्रत्येक खोप उत्पादक कम्पनीलाई हामीले ५० हजारका दरले खोप उपलब्ध गराइदिन आग्रह गरिएको अवस्था छ। उत्पादक मुलुकहरुमा पनि माथिल्लो तहमा कुटनीतिक पहल भइरहेको छ। तर, खोपको उपलब्धता नभएका कारण अहिले नै पाउन सक्ने सजिलो अवस्था भने छैन।’

अहिले १४ लाख वृद्ध वृद्धालाई जसरी पनि खोप उपलब्ध गर्नु पर्ने अवस्था रहेको उनले बताए। भारतबाट कोभिशील्ड र कोभ्याक्स अन्गर्गतकाे खोप तत्काल उपलब्ध हुने छाटकाट नदेखिएको बताउँदै उनले विकल्पको लागि अक्सफोर्ड र अस्टाजेनिकाको खोप ल्याएर भए पनि दोस्रो प्राथामिकतामा परेका मानिसहरुलाई लगाउनु पर्ने बताए।

यस्तै लामो विवाद र रस्साकस्सीबीच खोप ल्याउने अनुमति पाएको नीजि क्षेत्रबाट पनि शुभ संकेत देखिएको छैन। उनीहरुले पनि खोप कहिले ल्याउँछन भन्ने टुंगो छैन्। प्रवक्ता पौडेलका अनुसार खोप दिने उत्पादक कम्पनी तथा देशहरुले नीजि क्षेत्र भन्दा पनि सरकारलाई रोज्ने भएकाले उनीहरुलाई थप चुनौति हुन्छ।

खोप उत्पादक कम्पनीहरुले निजी क्षेत्रलाई दिएको खोप गरिबहरुसम्म नपुग्ने सोचमा हुन्छन्। त्यसैले खोप उत्पादक कम्पनीहरुले प्राइभेटलाई एकदमै थोरै मात्रामा बेच्छन्। यदि त्यो थोरै मात्राको खोपमध्यको केही नीजि क्षेत्रले ल्याउन सक्नु चुनौतीकै रुपमा छ।

खोपमा सफलता र भइरहेका प्रयास

बेलायतले आजभन्दा ७ महिना पहिले नै फाइजर र बायोएनटेकले बनाएको खोप प्रयोग अनुमति दियो। कोरोनाविरुद्धको खोपको प्रयोग गर्ने पहिलो देश बनेको बेलायतले करिब १० महिना लगाएर बनेको कोरोना विरुद्धको खोप प्रयोग गर्न अनुमति दिएको थियो।

त्यसको एक महिनापछि अर्थात सन् २०२० को डिसेम्बर ३१ मा उक्त खोपलाई डब्लूएचओले आपतकालीन प्रयोगको मान्यता दिएको थियो भने कोरोना विरुद्धको खोप स्वीकृति पाउने फाइजर पहिलो कम्पनी बनेको थियो। त्यसअघि नै विभिन्न देशरुले उक्त खोप प्रयोग र खरिद गरिसकेका थिए। र केही देशहरुले त्यसलगत्तै खोप खरिद गरे।

हालसम्म डब्लूएचओले फाइजर/बायोएनटेक, अक्सफर्ड/एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, मोडेर्ना, कोभिशिल्ड, सीनोफार्म र सिनोभ्याकको गरी कुल ७ वटा कोभिड–१९ खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिँदै सूचीकृत गरेको छ।

यस्तै ६० भन्दा बढी भ्याक्सिन क्लिनिकल ट्रायलमा छन। त्यी मध्ये ३६ वटा कम्पनीको सेकेण्ड ट्रायलमा र २६ बढी कम्पनीको खोप तेस्रो ट्रायलमा छन्। नेपालले हालसम्म भारत, चीन र रुसमा उत्पादित खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।

सबैभन्दा पहिले सीरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिशील्ड खोपले नेपालमा आपतकालीन प्रयोग अनुमति पाएको थियो। त्यसपछि बेइजिङ इन्स्टिच्युट अफ बायोप्रडक्ट अन्तर्गत सिनोफार्मले उत्पादन गरेको भेरो सेल खोपले फाल्गुनको पहिलो साता आपत्कालीन प्रयोगको अनुमति पाएको थियो।

यस्तै औषधि व्यवस्था विभागले भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई चैत्रको पहिलो साता आपत्कालीन प्रयोगको अनुमति दिएको थियो।

वैशाखको दोस्रो साता रुसमा विकास गरिएको स्पुत्निक–भी खोपले पनि नेपालमा आपत्कालीन अनुमति पाएको थियो। भने पछिल्लो पटक चीनको सिनोभ्याक लाइफ साइन्सेज कम्पनी लिमिटेडले उत्पादन गरेको भेरो सेललाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।

नेपालमा अहिलेसम्म कोभिशील्ड र चीनले अनुदानमा दिएको सिनोफार्म अन्तर्गतको भेरो सेल खोप मात्रै प्रयोगमा ल्याइएको छ।

हालसम्म कतिले लगाए खोप ?

यसअघि भारतबाट १० लाख डोज अनुदान, १० लाख डोज खरिद र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज, र चीनियाँ भेरोसेल खोप ८ लाख र १० लाख डोज अनुदान गरी कुल ४१ लाख ४८ हजार मात्रा खोप नेपाल आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म नेपालमा कोभिशील्ड र भेरोसेल गरेर कूल २१ लाख १२ हजार ४ सय ९३ जनाले खोप लगाएका छन्। यो भनेको नेपालको कुल जनसंख्याको करिब ८ प्रतिशत हो।

त्यस्तै हालसम्म कूल ३ लाख ९० हजारले दोस्रो मात्राको खोप लगाएका छन्। तीन करोड जनसंख्या भएको देशमा यो भनेको कुल जनसंख्याको करिब २ प्रतिशत हो। अर्थात नेपालमा हालसम्म खोपको पुरा मात्रा लगाउने जनसंख्या २ प्रतिशत मात्रै छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा भेरोसेल खोप कार्यक्रम भने अहिले सञ्चालनमा छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने गाइडलाइन तोकेको छ। तर, गत फागुन २३ गते पछाडि दोस्रो प्राथामिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १४ लाख नागरिकलाई दोस्रो डोज खोप कहिले लगाउने पत्तो छैन।

पहिलो मात्राको खोप लगाएको १२ हप्ता वितिसकेकोले उनीहरुलाई अब १६ हप्ता भित्र खोप लगाउने तयारीमा मन्त्रालय छ। खोप पाउन निकै चुनौति भएकाले दोस्रो खोप उपलब्ध गराउने सरकारी अभियान प्रभावित हुन सक्ने चिन्ता उत्पन्न भएको छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला