द हाउस अफ विज्डम (बेयत अल-हिकमाह) नामक प्राचीन पुस्तकालयको भग्नावशेष उपलब्ध छैन। तेह्रौँ शताब्दीमा ध्वस्त पारिएको भनिएको यो पुस्तकालय ठ्याक्कै कहाँ पर्थ्यो वा कस्तो देखिन्थ्यो हामीलाई थाहा छैन।

तर यो प्रतिष्ठित पुस्तकालय इस्लामिक स्वर्ण युगको समयमा बग्दादको महत्त्वपूर्ण बौद्धिक पाठशाला थियो र यहाँ नै हाम्रो आधुनिक समयको अरेबिक सङ्ख्या सहितका रूपान्तरणकारी हिसाबका सिद्धान्तहरूको जन्म भएको थियो।

खलिफा हारुन अल-राशिदको निजी सङ्कलनका रूपमा आठौँ शताब्दीको अन्त्यतिर स्थापना गरिएको यो पुस्तकालयलाई त्यसको ३० वर्षपछि सार्वजनिक पुस्तकालयमा परिणत गरिएको थियो।

द हाउस अफ विज्डमले संसारभरिका वैज्ञानिकहरूलाई बग्दादतर्फ तानेको जस्तो देखिन्थ्यो।

लण्डनमा अहिले अवस्थित ब्रिटिश लाइब्रेरी वा प्यारिसको बिब्लियोथेक न्याशोनलजस्तै भव्य द हाउस अफ विज्डम मानविकी र विज्ञान सङ्कायका कैयौँ विषयको अध्ययन केन्द्र बनेको थियो।

द हाउस अफ विज्डम १२५८ को मङ्गोल घेराबन्दीका क्रममा क्षतिग्रस्त भएको थियो। किंवदन्तीअनुसार धेरै लेखोटहरू टाइग्रेस नदीमा फाल्दा त्यहाँको पानी नै मसीका कारण कालो बनेको थियो।

तर उक्त पुस्तकालयमा गरिएको खोजले शक्तिशाली, अमूर्त गणितीय भाषा आविष्कार गरेको थियो जसलाई पछि इस्लामी साम्राज्य, युरोप र अन्तत: विश्वले नै स्वीकार गर्न पुग्यो।

सरे विश्वविद्यालयका भौतिक विज्ञानका प्राध्यापक जिम अल खलिली भन्छन्, “हाम्रो लागि ठ्याक्कै कहाँ र कहिले द हाउस अफ विज्डम स्थापना गरिएको थियो भन्दा पनि वैज्ञानिक अवधारणाहरूको रोचक इतिहास र उनीहरूको विकास कसरी भयो भन्ने कुरा महत्त्वपूर्ण बन्नुपर्छ।”

द हाउस अफ विज्डमको गणितसम्बन्धी विरासत जान्नका लागि इतिहासमा फर्कनुपर्छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला