पशुपति क्षेत्र विकास कोषले आफ्नो गुरुयोजनामा पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वलाई कायम राख्नको निम्ति मन्दिर नजिक घाट नराखी अन्यत्र सार्ने गरी प्रस्ताव गर्ने भएको छ ।

कोषका सदस्य सचिवप्रदीप ढकालले जानकारी दिएअनुसार मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको हो । ‘विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै वाग्मती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो,’ उनले भने ।

घाटको शवदाह अभिलेखमा कोरोना महामारी फैलिएका बेला कुनै दिन २०० वटा त कोरोना भई निधन भएकाको देखिएको छ । यसरी लास व्यवस्थापनको कारण पशुपति क्षेत्र कि घाट हो भनी ठम्याउन असहज हुने गरी धूवाँ आउन थालेपछि आर्यघाट पूर्णरुपमा बन्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको हो । साथै उही स्थानमा रहेको विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव गर्ने जनाइएको छ ।

भष्मेश्वरघाटका दुई वटा घाट राखी अरु हटाएर पशुपतिस्थित वाग्मती किनारलाई पूजा, आराधना, ध्यान, साधना केन्द्रका रुपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहनुभएका ढकालले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला