पोखरा, २३ जेठ – सरकारले जेठ ५ गते बुधबार देशका विभिन्न अस्पतालमा कोभिडको निशुल्क उपचार गराउने गरी सम्झौता गर्यो । जसमा पोखराका २ अस्पताल मणिपाल र गण्डकी मेडिकल कलेजसमेत परे ।

सम्झौता भएको ९ दिनपछि मणिपालमा २१ दिने शिशुलाई भर्ना गर्न एक परिवार आए । जानबहादुर बुढामगरले बैशाख २३ गते आफ्नो सुत्केरी श्रीमतीलाई मणिपाल लगेका थिए । पोखरामा मजदुरी गर्दै जीविका चलाउँदै आएका मगरको पहिलो सन्तानको रुपमा छोरा जन्मिएको थियो । मणिपाल अस्पतालमै प्रसूती गर्दा सुरुमा करिब १० देखि १५ हजार रुपैयाँ खर्च भयो ।

बच्चा जन्मिएको २० दिनमा जन्डिस देखा परेपछि पुनः मणिपालमै लगे । जेठ १४ गते मणिपाल लगेको शिशुलाई एकदिन राखे । १५ गते अचानक शिशुमा ज्वरो बढेपछि अस्पतालले पिसिआर परीक्षण गर्न सुझायो । १० हजार धरौटी राखेर भर्ना गरेको शिशुमा कोरोना संक्रमण पुष्टि भयो ।

लगत्तै अस्पतालका कर्मचारी तथा डाक्टरले रकम जम्मा गर्न भन्यो । उता सरकारले निःशुल्क उपचार भनिरहँदा मणिपालले भने रकम जम्मा गर्नुपर्ने बतायो । ‘रकम डिपोजिट गर्न जाँदा काउन्टरमा कति लाग्ने कति जम्मा गर्ने थाहा नभएको भन्दै इमरजेन्सीतर्फ पठायो,’ शिशुका बुवा बुढामगर भन्छन्, ‘इमरजेन्सीले पनि कति लिने भन्ने थाहा नभएको भन्दै ठूलो डाक्टरकोमा जाऊ भन्यो ।’
शिशुका बुवा जानबहादुरलाई जब अस्पताल प्रशासनले लाग्ने खर्च सुनायो, उनी आत्तिए । सुरुमै उनलाई उपचारका लागि ९० हजार रुपैयाँ धरौटी राख्न भनियो । ज्याला मजदुरी गरेर दैनिकी गुजारिरहेका उनले रकम बुझाउन सक्ने अवस्था थिएन । उनीसँग रकम नभएको थाहा भएपछि अस्पतालले उपचार गर्न मानेन ।
अस्पतालले पैसा अभावकै कारण देखाएर उपचार गर्न अस्वीकार गरेपछि जानबहादुरले संक्रमित शिशु र श्रीमतीसहित फेरि कोठामै फर्किने तयारी गरे । ‘सुरुमै ९० हजार डिपोजिट गर्नुपर्छ भन्यो । त्यसपछि दैनिक २२ देखि २८ हजार सम्म दिनुपर्छ भन्न लागे । बच्चालाई कोठामै लान्छु भन्दै निस्किएँ,’ भन्छन्, ‘हामीले कहाँबाट ल्याउने त्यत्रो रकम ?’

पछि अरुले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क उपचार हुनेबारे जानकारी दिएपछि त्यतै लागेको उनी सुनाउँछन् । अहिले पनि शिशुको अवस्था गम्भीर नै छ । उनको एनआइसीयूमा उपचार भइरहेको छ भने आमाबुवामा नै संक्रमण पुष्टि भएको छ । उनीहरु शिशुलाई एनआइसीयूमा राखेर आफूहरु आइसोलेसनमा छन् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला