उद्योगी भन्छन्, ‘कालोबजारी गरेको पुष्टि भए कारबाही भोग्न तयार छौं ।’

काठमाडौँ – पछिल्लो समय खाने तेलको मूल्यमा कीर्तिमानी बनेको छ । अन्य खाद्य वस्तुको मूल्यमा सामान्य उत्तारचढाव देखिए पनि खाने तेलको मूल्य छोइनसक्नु छ । साढे दुई महिनायता लिटरमै ७५ रुपैयाँसम्म मूल्य बढेको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

तेलबाहेक अन्य खाद्यवस्तुको मूल्यमा त्यति अन्तर देखिएको छैन । तर साढे दुई महिनाअघि १ सय ४५ देखि १ सय ६० रुपैयाँ पर्ने एक लिटर सोयाबिन तेलको मूल्य बढेर २ सय २० रुपैयाँदेखि २ सय ३५ रुपैयाँसम्म पुगेको छ । प्रतिलिटर २ सय ३५ रुपैयाँ पर्ने सनफ्लावर तेल अहिले ३ सय रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘तोरीको तेल पनि २ सय ७५ रुपैयाँदेखि २ सय ९० रुपैयाँसम्ममा बिक्री भएकोमा ३ सय ३० रुपैयाँसम्म पुगेको छ ।’

यो खुद्रा मूल्य साढे २ महिनायताको हो । त्योभन्दा अगाडि पनि मूल्य निरन्तर बढेको संघले जनाएको छ । ‘स्वदेशी उत्पादन न्यून छ । पूर्णतः परनिर्भर भएकाले अन्तर्राष्ट्रिय बजारमा बढ्दा यहाँ पनि बढ्छ । घट्दा स्वदेशी बजारमा पनि घट्छ,’ नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष सन्दीपकुमार अग्रवाल भन्छन् । उनका अनुसार तेलमा भइरहेको मूल्यवृद्धिका विभिन्न कारण छन् । पहिलो कारण कच्चापदार्थको मूल्यवृद्धि नै हो । हाल संघमा २० उद्योग आबद्ध छन् । ती उद्योगमा चाहिने कच्चापदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीका गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ । कच्चापदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने हुँदा यहाँ पनि असर परेको संघको दाबी छ ।

एक वर्षअघि अर्जेन्टिनाबाट प्रतिटन ६ सय १६ डलरमा खरिद गरिएको क्रुड सोयाबिन बढेर १२ सय ७९ डलर र युक्रेनमा ६ सय ५६ डलरमा खरिद गरिएको क्रुड सोयाबिनको तेल बढेर १५ सय ८० डलर पुगेको अध्यक्ष अग्रवाल बताउँछन् । ‘विश्वभर फैलिएको कोभिड र भूराजनीतिक मुद्दाहरूका कारण तेलको मूल्य अस्वाभाविक रूपमा बढेको छ । मूल्य हालसम्मकै ऐतिहासिक वृृद्धि हो,’ अग्रवालले भने, ‘यसको पुष्टि युरोपबाट प्रकाशन हुने आयलवर्ल्डको २३ अप्रिल २०२१ को डकुमेन्टले पनि प्रस्ट्याएको छ ।’ संघले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराएको विवरणअनुसार ८ अप्रिल २०२१ मा क्रुड सोयाबिन प्रतिटन ११ सय ९० बाट बढेर अप्रिल २२ सम्म आइपुग्दा १२ सय ७९ डलर पुगेको छ । हल्दियासम्म आइपुग्दा भाडा शुल्कसहित १३ सय ५० डलर पुगेको छ । क्रुड सनफ्लावरको मूल्य पनि अप्रिल ८ मा १५ सय ३० डलर थियो, अप्रिल २२ सम्म आइपुग्दा १५ सय ८० डलर, भाडा शुल्कसहित हल्दियासम्म पुग्दा १६ सय ६० डलर पुगेको छ ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला