जहींतहीं रुख काटेको छ, खोल्सा खहरेमा ट्याक्टर लगेर ढुंगा निकालेको छ, चुरे सबै मासिन लाग्यो, जोगाउने कोही भएन ,

सिन्धुली, उदयपुर — दुधौली नगरपालिका–२ गागनका किसान शम्भु दनुवारलाई अहिले कमला खोंचको फाँटमा मकै बाली देख्दा ईर्ष्या जाग्छ । कुनै दिन आफ्नो खेतमा यसैगरी मकैको घोगा हेरेर उनी दंग पर्थे ।

चुरे विनाशका कारण आएको कमला नदीको बाढीले उनको दुई बिघा खेत बगर बनाएको छ । उनी अहिले नदी कटानबाट जोगिएका फाँट खेतमा मजदुरी गरेर जीवन निर्वाह गर्न बाध्य भएका छन् ।

‘धान, मकै गरेर वर्षमा तीन बाली भित्र्याउँथे,’ दनुवारले भने, ‘अहिले बगर हेरेर चित्त बुझाउनुपरेको छ ।’ गैरसरकारी संस्थाबाट १४ हजार ४ सय रुपैयाँ ऋण लिएर उनी हाल गोरु किनेर टायर गाढा चलाइरहेका छन् । उनका अनुसार कमला नदीले गाउँमा रहेका झन्डै दुई सय परिवारको चार सय बिघा खेत बगाएको छ । उनीहरूको अवस्था पनि सुकुम्बासीसरह छ ।

चुरे विनाशले गर्दा कमला खोंच क्षेत्रमा कमला नदीको बाढीले बर्सेनि उर्वरभूमि कटान गरेपछि यहाँका सयौं भूमिपति कृषक अहिले सुकुम्बासी बनेका छन् । बाँकी रहेको खेत नदी कटानको चपेटामा परेको छ । चुरेमा भएको विनाशले गर्दा नयाँ खहरे आएर कमला नदीमा मिसिने र सतह बढ्दा बाढीले खेत बगाएको दनुवारले बल्ल बुझ्दै छन् । ‘जहींतहीं रूख काटेको छ, खोल्सा खहरेमा ट्र्याक्टर लगेर ढुंगा निकालेको छ, त्यही भएर बाढी बढेको भन्ने सुनेको छु,’ उनले भने, ‘चुरे सबै मासिन लाग्यो, जोगाउने कोही भएन ।’

चुरेमा विनाश र खहरेबाट अवैध ढुंगा झिकेपछि कमला नदीको सतह बढ्दा बर्सेनि दुधौली नगरपालिकाको हत्पते, निपाने, हर्षाही, टाँडी, सिर्थौली र कमलामाई नगरपालिका–८ देखि १४ वडासम्मका किसान कटानबाट प्रताडित बन्दै आएका छन् । गत वर्षामा कमला नदीले १० बिघाभन्दा बढी धान खेत बगरमा परिणत गरेको हत्पतेकै किसान रेखनाथ दाहालले सुनाए । उनका अनुसार कमला नदी कटानको समस्या बढ्दो रूपमा देखापरेको दुई दशकभन्दा बढी भए पनि त्यसलाई नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन सकेको छैन ।

अर्का किसान चोक्ता दनुवारले कमला नदीमा आएको बाढीले १० कट्ठा खेत बगाएको दुःख पोखे । हाल उनी दैनिक मजदुरी नगरे चुलोमा आगो बाल्न नसक्ने अवस्थामा छन् । उनका अनुसार चुरेबाट निस्किएका खहरे र कमला नदीको कटानबाट सयौं बिघा उर्वर जमिन बगरमा परिणत भएको छ । ‘एकातिर तटबन्ध बनायो, अर्कोतिरबाट बाढीले भत्काउँछ,’ उनले भने, ‘चुरे मास्ने काम रोक्न सके दीर्घकालीन नियन्त्रण हुन्थ्यो ।’

चुरे क्षेत्रबाट नदीजन्य पदार्थको अवैध उत्खनन र निकासीले उदयपुरमा पनि सुकुम्बासीको संख्या बढाएको छ । चुरेबाट बग्ने नदी, खोला खहरेमा आउने बाढीपहिरोले घरखेत बगाउँदा सुकुम्बासी हुने क्रम बढेको हो । कमलादेखि सप्तकोसीसम्म फैलिएको चुरे तलका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन र निकासी हुने गरेको छ ।

चुरे दोहन रोक्न नसक्दा मानवसँगै अन्य जीवजन्तुको भविष्य खतरामा पर्दै गएको छ । चुरे आसपासका क्षेत्र मरुभूमीकरण मात्र नभई बाढीपहिरोको विपद्बाट धेरै बस्ती जोखिममा परेको कटारी नगरपालिका–१ बेलसोतका कर्णबहादुर कार्कीले बताए । ‘वातावरणीय प्रतिकूलताको प्रभावले सबैभन्दा बढी चुरे क्षेत्रमा आश्रित मधेस र भित्री मधेसका सर्वसाधारण प्रभावित छन्,’ उनले भनेका छन।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला