बागलुङ, २० जेठ– बाढी पहिरोले क्षति पुगेका निजी आवास समयमा पुननिर्माण र पुनस्थापना हुन नसक्दा पीडितहरु मर्कामा परेका छन् । बागलुङमा बाढी पहिरोले क्षति पु¥याएको एक वर्ष बितिसक्दा समेत तीनै तहका सरकारले निजी आवास पुननिर्माणमा ढिलाई गरेका हुन् ।
गतवर्षको वर्षाले क्षति भएका यहाँका दशवटै स्थानीय तहमा निजी आवास पुननिर्माण तथा पुनस्थपाना हुन सकेको छैन । हिउँदमा त्रिपाल र टहरा निर्माण गरेर बसेका पीडितहरु वर्षायाम सुरु भएसँगै पीडाबोध गर्न थालेका छन् । ‘गतवर्ष जस्तै पहिरो आउला भन्ने त्रास गाउँमा छ, तीन दिन पानी पर्दा घरमा बस्नै सकिएन्’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका इश्वर पौडेलले भने ‘हाम्रो गाउँमा आठ घर पुरिएका हुन्, कसैका घर बनेका छैनन् ।’

जिल्ला विपद व्यवस्थापन समितिले तयार गरेको तथ्यांक अनुसार बाढी र पहिरोका कारण ६ सय ३२ परिवार विस्थापित भएका छन् । २१ परिवारको नयाँ घर बनाउन जग्गासमेत छैन् । ५२ घरको प्रवलीकरण मात्रै गर्दा बस्न सकिने अवस्था रहेको तथ्यांक छ । स्थानीय सरकारले संघ र प्रदेशको बाटो हेर्ने र संघीय सरकारको कार्यक्रम आउन ढिलाई हुँदा पुननिर्माण तथा पुनस्थापनाको काम हुन नसकेको हो ।

बागलुङ, म्याग्दी र सिन्धुपाल्चोकलाई सरकारले विपतग्रस्त क्षेत्र घोषणा गरेको छ । संघीय सरकारले पुननिर्माण र पुनस्थापनाको कार्यक्रम ल्याउने आश्वासन दिएकाले आँफुहरु पर्खाइमा रहेको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली बताउँछन् । राहत स्वरुप प्राप्त भएको रकमबाट अस्थायी बसोबासका लागि भने ढोरपाटनले काम सुरु गरेको छ ।

सरकारले गठन गरेको राष्ट्रिय विपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जेठको दोस्रो साता मात्रै लाभग्राहीको सूची मागेको छ । स्थानीय तहले समयमा तथ्यांक तयार नगर्दा काम गर्न ढिलाई भएको प्राधिकरणले आरोप लगाउने गरेको छ ।

‘प्राधिकरणले पालिका तहमा जनशक्ति परिचालन गरेर तथ्यांक तयार गर्न लगाएको थियो, प्राप्त तथ्यांकलाई हामीले केही दिनअघि मात्रै पठाएका छौं’ जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले भने ‘असारभित्रै पहिलो किस्ताको रकम पठाउला भन्ने आश छ ।’

प्राधिकरणले तयार गरेको कार्यविधि अनुसार पुननिर्माण, पुनस्थापना र प्रवलीकरणका लागि सरकारले अनुदान दिने भनेको छ । पहाडी जिल्ला बागलुङमा प्रत्येक घर पुननिर्माणको लागि चार लाख रुपैयाँ अनुदान दिने कार्यविधिमा उल्लेख छ । भूकम्पपछिको पूननिर्माण जस्तै विधिको प्रयोग गरेर सरकारले अनुदान उपलव्ध गराउन लागेको हो । जग्गा नभएकाले घडेरी खरिदको लागि थप रकम पाउने छन् । मर्मत गरेर बस्न सकिने घरको लागि प्रवलीकरण कार्यक्रममा समावेश छ ।
दुई वर्षमा सबै काम सकिने गरि लाभग्राहीले अनुदान पाउने कार्यविधिमा उल्लेख छ । ‘असारसम्म पहिलो किस्ताको रकम दिन सकिन्छ होला’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश गौतम भन्छन् ‘सबै प्रक्रिया पुगेपछि बाँकी दुई किस्ताको रकम पाईन्छ ।’ असारमा पहिलो किस्ताको रकम पाएपनि वर्षाका कारण घर निर्माणको काम थाल्ने वातावरण नहुने पीडितको गुनासो छ ।

पीडितले पाउने अनुदानमा समेत तिनै तहको साझेदारी रहने कार्यविधिमा उल्लेख छ । गाउँपालिकाको हकमा संघीय सरकारको ६० प्रतिशत, प्रदेशको ३० प्रतिशत र स्थानीय तहको १० प्रतिशत साझेदारी रहने भनिएको छ । नगरपालिकाको हकमा संघीय सरकारको ५५, प्रदेशको ३० र स्थानीय तहको १५ प्रतिशत साझेदारी रहने छ । साझेदारीका लागि स्थानीय तहले उपलव्ध गराउनुपर्ने रकम समेत जम्मा हुन ढिलाई भएको छ । तीनै तहबाट प्राप्त अनुदान रकमलाई जिल्ला विपत् व्यवस्थापन समितिले कार्यप्रगतिको आधारमा लाभग्राहीलाई उपलव्ध गराउने छ ।

बागलुङमा सबैभन्दा धेरै ढोरपाटन र निसीखोला गाउँपालिकामा बाढी पहिरो प्रभावित छन् । ढोरपाटनमा १ सय २७ र निसीखोलामा पनि १ सय २७ परिवार घरबारबिहिन भएका थिए । वडिगाड गाउँपालिकामा १ सय १५ घरमा क्षति पुगेको थियो । जैमिनीमा ६५, बागलुङमा ७४, गलकोट नगरपालिकमा ३३, ताराखोलामा २८, बरेङमा ४३, काठेखोलामा १४ र तमानखोला गाउँपालिकामा ६ घर बाढी पहिरोबाट क्षति पुगेका थिए । भूजीखोलामा आएको बढीले गत बर्खाको समयमा ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै जनधनको क्षति भएको थियो भने जैमिनी, निसीखोला र बरेङमा धेरै परिवार विस्थापित छन् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला