लामो समययता नेपालमा फेरि देखिएनन् बाटागुर, बाटागुर ढोंगोका र चित्रा इन्डिका प्रजाति

काठमाडौँ — वातावरण विज्ञानकी विद्यार्थी अस्मिता श्रेष्ठले सन् २०२० को मार्चमा सप्तरीमा धर्के भनिने भारतीय धुरी कछुवा फेला पारिन् । ती कछुवा कोसी ब्यारेजभन्दा २ सय मिटर पश्चिम नजिकैको एक पोखरीमा भेटिएको थियो । वातावरण विज्ञानकी शोधार्थी श्रेष्ठले भेट्नुअघि कछुवाको उक्त प्रजाति सप्तरीमा पाइएको स्थानमा रेकर्ड थिएन ।

प्राध्यापक एवं हर्पिटोलोजिस्ट करन शाहद्वारा लिखित ‘हर्पिटो फाउना अफ नेपाल’ किताबमा यो कछुवा सुनसरी जिल्लामा पाइने उल्लेख भए पनि उक्त ठाउँ विशेषका लागि तस्बिरसहितको प्रमाण भने थिएन ।

आईयूसीएन रेड लिस्टले यो कछुवालाई असुरक्षित प्रजाति (भल्नर्रेबल स्पीसीस) श्रेणीमा राखेको छ । कछुवा भेटिएको बारे यसै महिना जर्नल अफ थ्रिटेन्ड ट्याक्सामा श्रेष्ठको यो अनुसन्धान प्रकाशित भएको छ ।

सन् २०२० मा लुम्बिनीमा पनि इन्डियन आइड टर्टल (मोरेनिया पेटर्सी) प्रजातिको कछुवा भेटियो । त्यहाँ यो लामो समयपछि देखिएको थियो । साउथ एसिएन रेप्टाइल नेटवर्कमा यसबारे मे २१ मा आलेख प्रकाशित छ ।

उक्त कछुवा हरैया खोला नजिकै भेटिएको थियो । यो प्रजातिको अनुसन्धान निकै कम भएको उक्त आलेखमा उल्लेख छ । कछुवामा विद्यावारिधि गरिरहेका झापाका टपिलप्रकाश राईको मुख्य लेखकीय भूमिकामा प्रकाशित उक्त आलेखअनुसार यो कछुवा नदी क्षेत्र छेउछाउ बन्ने पोखरी तथा नदीले बहावको दिशा बदल्दा बनेका तालहरूमा पाइन्छ । यो तराई क्षेत्रको खोला पनि पाइने गरेको पछिल्ला अध्ययनहरूले देखाएका छन् । यसअघि अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्याल लगायतको टोलीले सन् २००९ मा गरेको अनुसन्धानका क्रममा रूपन्देहीको गैंडाताल (नेपालमा प्रजातिको पहिलो रेकर्ड भएको स्थान) तथा आसपासका क्षेत्रमा यो प्रजातिको कछुवा भेटिएको थिएन ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला