‘बाटोमा मार्छु भन्दै मेरो फोनसमेत स्विच अफ गरिदियो, कसैलाई खबर समेत गर्न पाइन् ।’

पोखरा, १९ जेठ – सामाजिक सञ्जाल फेसबुकबाट जोडिएको सम्बन्धकै कारण एक महिलाको घरवार बिग्रिन पुगेको छ । ती महिला हिंसाको शिकार पनि बनेकी छन् ।
घटना विवरण अनुसार स्याङ्जाकी विवाहित महिलाको दाङ कोइलाबास घर भई मोनिकापुर चिल्ले बस्दै आएका पूर्णबहादुर विकसँग फेसबुकमार्फत् सम्बन्ध गाँसियो । महिलाका घरमा श्रीमानसहित २ जना छोरा थिए ।
फेसबुकमा दिदी–भाइबाट सुरु भएको सम्बन्ध अघिबढ्दा पूर्णबहादुरले महिलालाई सानी, कालीजस्ता शब्दावली प्रयोग गर्न थाले । ‘यस्तो नभन मेरो परिवार छ भन्दा म जसरी पनि तिमीलाई आफ्नो बनाउँछु,’ भन्न थाल्यो,’ पोखरामा अलपत्र अवस्थामा रहेकी ती महिलाले भनिन्, ‘पछि हाम्रो काठमाडौंमा भेट भयो । त्यो बेला म साथीसँग गएकी थिएँ । पछि ऊ र मसँगै भएको फोटो देखाएर धम्क्याउन थाल्यो ।’
२ जना सँगै बसेको फोटो पूर्णबहादुरले महिलाको परिवारलाई पठाइदियो । महिलाको घर बिग्रियो । बाध्य भएर महिला पूर्णबहादुरको पछि लागिन् । पूर्णबहादुरले महिलालाई दाङ लिएर गयो । दाङमा उसकी पहिलो श्रीमतीले प्रहरीकहाँ बहुविवाहको उजुरी हालिदिइन् । पूर्णबहादुर र महिला दुबै ११ दिन हिसासतमा बसे । पछि पूर्णबहादुृरकी पहिली श्रीमतीले नै धरौटी तिरेर उनीहरुलाई निकालिदिइन् । त्यसपछि आफूमाथि हिंसाको उपक्रम चलेको उनले जिकिर गरिन् ।
‘निकै कुटेपछि मलाई पोखरातिरै लैजाऊ भनें,’ उनले भनिन्, ‘लिएर त आए तर हात नै नचल्ने गरी कुटेर अलपत्र पारेर गयो ।’ उनी अहिले पोखरामा आफन्त पर्नेको घरमा आश्रित छिन् । अब के गर्ने कसो गर्ने कुनै ठेगान छैन । भएको केही गहनासमेत पूर्णबहादुरले बेचेर खाइदिए ।
‘म त न घर न घाटको जस्तै भएँ । मेरो जीन्दगी त यत्तिकै सकियो । अहिले म काम गरेर समेत खान सक्दिन,’ उनले भनिन्, ‘बाटोमा मार्छु भन्दै मेरो फोनसमेत स्विच अफ गरिदियो कसैलाई खबर समेत गर्न पाइन् ।’ मेडिकलमा देखाउँदा हातको हाड चर्किएको जस्तो भन्दै अस्पताल जान भनेपनि आफूसँग पैसा नभएकाले जान नसकेको उनले बताइन् ।
उनले घरबार बिग्रिसकेको र आफूले समेत बोलेर गल्ती गरेको स्वीकार्दै आफ्नो उपचार खर्च व्यहोरीदिनुपर्ने बताइन् । केटाको पहिले नै बिहे भएको सुनाउँदै श्रीमान् र श्रीमती मिलेर आफुलाई दुःख दिएको बताइन् । ‘मलाई उस्को श्रीमतीले जे भयो भयो अब मिलेर बसौं भन्दै दाङ बोलाइन् । म पनि यता घरबार विग्रिसकेकाले गए । बहु विवाहको मुद्धा लगाएर मलाइ र उसलाई थुनाइयो,’ उनले थपिन, ‘बच्चासहित ११ दिन चौकी बसें पछि ती महिलाले नै धरौटी तिरेर हाम्लाई निकालिन् ।’

आफ्नो प्रतिक्रिया लेख्नुहोला