कोरोेना महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित हुने भएको छ । संक्रमण बढेसँगै शिक्षा मन्त्रालयले यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले सो प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाउने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न आइतबार शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो ।

गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन भएको थियो ।

मूल्यांकन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो ।

जस अनुसार मूल्यांकन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएको थियो ।

समितिले बुझाएको विद्यार्थीको प्राप्ताङ्कको आधारमा बोर्डले परीक्षाफल तयार गरी प्रमाणपत्र जारी गरेको थियो ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला