कोरोनाको वितण्डाले देश थला परेको छ । एकातिर प्रशस्त मात्रामा प्राणवायु नपाएर कतिपय मानिसहरू जीवनसँग हार्दै मृत्युवरण गरेका छन् । केही भने तिनैका मृत्यलाई पर धकेल्न आफ्नो भोकप्यास, घर परिवार सबै बिर्सेर रातदिन नभनी निरन्तर खटिरहेका छन् । ती स्वास्थ्यकर्मी हुन्।
आज देशभरका सम्पूर्ण स्वास्थ्यकर्मीहरु कोरोनाविरुद्धको युद्धमा एक सिपाही बनेर डुब्नै लागेको एक युगलाई बचाउन होमिएका छन् ।आज देशको अवस्था निकै दर्दनाक छ। यस्तो विषम परिस्थिति छ कि कैयौं कोरोना संक्रमित नागरिकले अस्किजनकै अभावमा ज्यान गुमाउपर्ने स्थिति आएको छ । कतिपय संक्रमितले अस्पताल जानका लागि एम्बुलेन्स खोज्दाखोज्दै र कतिपयले अस्पतालमा बेड पाउने आशामा चर्को शुल्क तिरेर एम्बुलेन्समा घुम्दाघुम्दै ज्यान गुमाउनु परेको छ ।
यस्तो जटिल परिस्थितिमा स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा कार्यरत स्वास्थ्यकर्मीहरु माथि जाइलाग्ने कहाँको सभ्यता हो? के स्वास्थ्यकर्मी मान्छे मार्नका लागि अस्पतालमा बसिरहेछन्? यस्तो विषम परिस्थितिमा हामीले पाउने प्रतिक्रिया यही हो? उसो भए बचाउने को छ यहाँ?
हरेक दिन थोरैमा पनि १२/१२ घन्टा, त्यो पनि यस्तो गर्मीयाममा बाक्लो, पोल्ने, खलखली पसिना आउने पीपीई लगाएर मास्कले अनुहारमा घाउ नै हुँदा, भोक र प्यासले प्याकप्याक परेर कतिपय अवस्थामा डाइपर नै लगाएर स्वास्थ्यकर्मीहरु रहरले काम गरिरहेका त पक्कै होइनन् ।
वर्षौंवर्षको लगानी, तपस्या, श्रम के हामीले अर्कोको तितो वचन सुन्न वा लात खानैका लागि गरेका हौं त? यस्ता अप्रिय व्यवहार त्यो किन दोहोरिरहेका छन् ? कहिले हामी स्वास्थ्यकर्मी अस्पताल परिसरमै आक्रमण र दुर्व्यवहारको शिकार हुनुपर्ने, कहिले भाडा तिरेर बसेको घरबाट लखेटिनुपर्ने, कहिले क्वारेन्टाइन स्थलबाट धपाइने तर फेरि तिनै घाइते, थकित दुर्व्यवहारबाट पीडित स्वास्थ्यकर्मीसँगै हाम्रो उच्च अपेक्षा रहने ।
एकातर्फ आज राष्ट्र कोरोनाको कहरले आक्रान्त भइरहेको छ र अर्कोतर्फ यी जीवन जोगाउन तत्पर स्वास्थ्यकर्मीप्रति भइरहेको तुच्छ व्यवहारले देशको शीर निहुरिएको छ । अन्य क्षेत्रमा सेवा दिने जागिरेहरु यो लकडाउनको बेला घरमै बसेर राज्यको सेवा सुविधा लिइरहेछन् । जनताको सेवा गर्न जनताबाटै चुनिएका व्यक्ति यस्तो परिस्थितिलाई ख्याल नै नगरी कुर्सीको दौडमा लागिरहेका छन् ।